बाँके । बाँकेमा एक महिला प्रहरी हवल्दारको मृत्यु भएको छ । गएराती बाँकेको हवल्दारपुर स्थित अस्थाई प्रहरी चौकीमा कार्यरत समुन्द्रकला नेपालीको उच्च रक्तचापका कारण मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी अस्पताल बाँकेले जनाएको छ ।
प्रदेश अस्पतालका निर्देशक एवं प्रहरी वरिष्ठ उपरीक्षक डा।अमिन कुमार श्रेष्ठका अनुसार मृतक प्रहरी हवल्दार नेपाली गएराती अस्वस्थ भएपछि चेकजाँचका लागि प्रदेश प्रहरी अस्पतालमा जानु भएको थियो । चेकजाँच क्रममा जानु भएकी समुन्द्रकलालाई अस्पतालमा भर्ना गरिएको डा श्रेष्ठले बताउनुभयो ।
उहाँ पहिलादेखि नै बिरामी हुनु हुँदो रहेछ । तर स्वास्थ्य चेकजाँच नियमित नगरेको र आफ्नो स्वास्थ्यका बारेमा गम्भिर नभएको हुनाले उहाँको प्रेसर नियन्त्रणमा आउनुको साटो अझैं उच्च हुन पुग्यो ।’ उहाँले भन्नुभयो,‘हामीले उहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर अण्डर अभ्जरभेसनमा राखेका थियौं । तर एक्कासी उच्च रक्तचापका कारण उहाँको मृत्यु हुन पुग्यो ।’
मृतक प्रहरी हवल्दार पहिलादेखि नै बिरामी रहेको डा श्रेष्ठले बताउनुभयो । हुम्ला दरबन्दी हुनुभएकी ३७ वर्षिया मृतक समुन्द्रकला नेपाली बाँकेमै कार्यरत हुनुहुन्थ्यो ।






