बाँके । सदभावको शहरले चिनिएको बाँकेको नेपालगञ्जमा रहेका विभिन्न धार्मिक स्थलहरुको सरफाई गरिएको छ । शुक्रबार बाँके जिल्लामा कार्यरत सुरक्षाकर्मीहरुको टोलीले विभिन्न धार्मिक स्थलहरुको बिहान सरसफाई गरेका हुन् । ‘सर्व धर्म स्थान, सरसफाई अभियान’ भन्ने मूल नाराका साथ शुक्रबार नेलाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले वागेश्वरी मन्दिर, मस्जिद, चर्च लगाएत यहाँका विभिन्न धार्मिक स्थलहरुको सरसफाई गरेका हुन् ।
उक्त सरसफाई अभियानमा सहभागी बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले सदभावलाई जीवन्त राख्नका लागि सामूहिक सरसफाई अभियानको शुरुवात गरिएको बताउनुभयो । ‘यो शहरलाई केवल भन्नका लागि मात्र सदभावको शहर भनिएको होइन । यहाँ एकले अर्काको धर्मलाई सम्मान गर्ने परम्परा रहेको हुँदा हामीले त्यही परम्परालाई जीवन्त राख्नका लागि सामूहिक सरसफाई अभियानको शुरुवात गरेका हौं ।’ उहाँले भन्नुभयो ।
प्रजिअ पोखरेलले सदभाव भन्ने वित्तिकै विभिन्न धर्ममा आस्था राख्ने व्यक्तिहरुको भावनासँग जोडिने विषय भएको हुनाले बाँके जिल्लामा कार्यरत सबै क्षेत्रका राष्ट्रसेवक कर्मचारीहरुले सामूहिक रुपमा गरिएको सरसफाईले यस्लाई अझैं बलियो बनाउने कुरामा आफुुहरु विश्वास रहेको बताउनुभयो । प्रजिअ पोखरेलका अनुसार विविधता सबै बाँके बासीको संस्कृती भएको हुनाले यस्लाई सबैले मिलेर नै प्रर्वद्धन गर्नुपर्छ भन्ने सन्देश दिनका लागि धार्मिक स्थलहरुको सरसफाई गरिएको हो ।
उक्त सरसफाई कार्यक्रममा बाँकेको राझामा रहेको इमामनगर ब्यारेक स्थित श्री बज्रदलको गणमा कार्यरत नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं. ३० गणमा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली लगाएत अन्य राष्ट्रसेवक कर्मचारीहरुले सामूहिक रुपमा सरसफाई गरेका थिए ।






