बाँके । करोडौं लागतमा निमार्ण गरिएको डिजिटल शौचालय प्रयोगमा नआएरै भत्काईएको छ । २०७६ माघ ६ गते नेदरल्यान्ड्स विकास कोषको ४६ लाख ३६ हजार रुपैयाँमा स्वास्थ्य र विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्तर्गत स्वचालित शौचालय निर्माण गरिएको थियो । नेपालगन्जको धम्बोझीचोकमा उक्त डिजिटल शौचालय निमार्ण गरिएको थियो । प्रयोगमा ल्याउन नसकिएपछि सोही स्थानमा सामान्य शौचालय बनाउन लागिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रवक्ता रिजालले डिजिटल शौचालयको प्रयोगमा जटिल्ता भएको बताउँदै भन्नुभयो,‘यो प्रविधिको शौचालय प्रयोगमा जटिलता उत्पन्न भयो । डिजिटल प्रविधिमा आउने समस्याले हैरान भएपछि अब सामान्य खाले शौचालयमा यसलाई परिवर्तन गर्ने निष्कर्षमा उपमहानगरपालिका पुगेको छ ।’ उक्त शौचालयमा डिजिटल प्रविधि जडान गरिए पनि लामो समय सञ्चालन नहुँदा सामानमा खिया लागेको थियो ।
शौच गर्दा स्वचालित रूपमा संगीत बज्ने र जो–कोहीले संगीत सुन्दै शौच गर्न मिल्ने वातावरणमा निर्मित उक्त शौचालय पूर्ण स्वचालित पद्धतिमा चल्ने व्यवस्थाका साथ बनाईएको थियो । शौचालयभित्र पानी तथा साबुन भएन भने शौचालयको ढोका नखुल्ने शौचालयको विशेषता थियो । शौचालय प्रयोगमा आए नआएको जानकारी ढोकामा रहेको डिजिटल डिस्प्लेमा सहजै देख्न सकिन्थ्यो ।
नेपालगन्जको केन्द्र धम्बोझीचोक नजिक कृषि विकास बैंक र राष्ट्र बैंकको बीचमा सो डिजिटल शौचालय निर्माण गरिएको थियो । एकैपटक सात जनाले प्रयोग गर्न मिल्ने आधुनिक प्रविधिसहितको शौचालय प्रयोगका लागि सीमित अवधिसम्म निःशुल्क गरिएको थियो । जमिनमाथि निर्माण गरिएको संरचना फोल्डिङयुक्त थियो भने शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लान सकिन्थ्यो ।
सौर्य प्रणालीबाट विद्युत् प्रवाह गरिएको र अपाङ्गता तथा महिलामैत्री सो डिजिटल शौचालयमा एकैपटक तीन महिला, तीन पुरुष र एक फरक क्षमता भएका व्यक्तिले शौच गर्न सक्ने गरी बनाइएको थियो ।






