काठमाण्डौ । पशुपतिनाथको जलहरीमा ‘सुन कि पित्तल’ भन्ने विवादलाई लिएर शुव्रmबार प्रतिनिधि सभा बैठक अवरोध भयो । दुई शब्दलाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले गम्भीर आरोपका रूपमा अथ्र्याएको छ भने सत्तापक्षले यसलाई अनावश्यक विवाद मानेका छन् । यस विवादलाई लिएर शनिबार बिहान प्रधानमन्त्रीसहितका शीर्ष नेताबिच हुने छलफलबाट मात्र टुङ्गो लाग्ने भएको छ ।
छलफलले कुनै निकास ननिकालेसम्म शनिबार ४ बजेका लागि तोकिएको बैठक अघि बढ्ने अवस्था छैन । जेठ १० गते नीति तथा कार्यव्रmमको छलफलमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जलहरीमा सुनको सट्टा पित्तल प्रयोग गरी अनियमितता गरेको आरोप लगाएको दुई दिनपछिको बैठकमा एमालेले विरोध गर्दै रोस्ट्रम नै घेराउ ग¥यो ।
एमालेको अवरोधले बैठक दैनिक कार्यसूचीमा प्रवेश गर्न सकेन । शब्द विवादमा नीति तथा कार्यव्रmमको बाँकी छलफल प्रभावित भयो । साथै नीति तथा कार्यव्रmममा प्रधानमन्त्रीले जवाफ दिने कार्यतालिका बिथोलियो । दिनभरजसो नै दलका प्रमुख सचेतकहरू छलफलमा जुटिरहे । सांसदहरू बैठक सञ्चालनको आसमा कुरिरहेका थिए भने सचिवालयले बैठक स्थगितको सूचना जारी गरिरह्यो ।
शुव्रmबारको बैठक सुरु हुनासाथ एमाले सांसदले उठेर विरोध जनाएका थिए । सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाइनुपर्ने, माफी माग्नुपर्ने वा सुन वा जलहरीको तथ्य जाँच हुनुपर्ने माग गर्दै एमालेले विरोध जनाएको थियो । एमालेका संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सत्तारूढ दलका सांसदबाट प्रमुख विपक्षी दलका नेतामाथि गम्भीर आरोप लगाएको अवस्थामा सरकारबाट जवाफ पाउनुपर्ने बताएका थिए ।
उनले एमाले बैठक चलाउन तयार भए पनि आफूहरूले उठाएका विषयमा जवाफ चाहेको बताएका थिए । सभामुख देवराज घिमिरेले विषयबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै आसनग्रहणका लागि आग्रह गरेका थिए । तर एमालेले जवाफ चाहेको भन्दै यथास्थानमै उठेर विरोध जनाइरह्यो । त्यसपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले धारणा राखे । उनले विपक्षी दलको नेतामाथि गम्भीर आरोप लागेको विषय निरूपण हुनपर्ने बताए ।
उनले भने,“यहाँ गम्भीर विषय उठेको छ । हामीलाई सदन रोक्न रहर छैन। सदन रोक्न चाहन्नौँ पनि, यो विषयमा हामी प्रस्ट छौँ । जलहरीको विषय यहाँ उठेकाले यस विषयमा प्रस्ट पारिनुपर्छ ।” सांसद नेम्वाङले बोल्नुभएलगत्तै सभामुख घिमिरेले माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न अनुमति दिए । प्रमुख सचेतक पाण्डेलाई बोल्न अनुमति दिएसँगै एमालेले यथास्थानमै होहल्ला सुरु गरेको थियो ।
उनले धारणा राख्न सुरु गरेपछि एमालेले रोस्ट्रम नै घेराउ ग¥यो । रोस्ट्रम घेराउपछि सभामुखले बैठक २० मिनेटका लागि स्थगित गरेका थिए । स्थगित समयमा दलका प्रमुख सचेतकले विवाद सुल्झाउने प्रयास गरे पनि सफल भएनन्। एमालेले अडान कायम राख्दा सत्तापक्षले माफी वा जाँचबुझ दुवैमा सहमति जनाएन । सहमति नहुँदै छलफल सकिएको छ ।
विवाद कायमै रहेपछि सचिवालयले सूचना जारी गरेर बैठक शनिबार दिउँसो ४ बजेसम्मका लागि स्थगित गरेको छ । शुव्रmबार बैठक स्थगनका तीन सूचना जारी भए । २० मिनेटका लागि स्थगित बैठक सुरु हुन नसकेपछि सचिवालयले ३ बजेसम्मका लागि स्थगित गरेको थियो । ३ बजे पनि बैठक बस्न नसकेपछि ६ बजेसम्मका लागि स्थगनको सूचना निकालिएको थियो ।
जलहरीको विषयमा यसअघि पनि विवाद भएका थिए । सुनको परिणामबारे महालेखा परीक्षकको कार्यालयले पनि प्रश्न उठाएको थियो । प्रयोग भएको भनिएकोमध्ये करिब ११ केजी सुन खरिदको प्रस्ट विवरण प्राप्त नभएको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ । यस्तै सम्पदा क्षेत्रमा कुनै चिज थपघट गर्न नपाइने अवस्थामा सरकारले जलहरी परिवर्तन गरेको विषय सर्वोच्च अदालतमा समेत पुगेको थियो ।
सर्वोच्चले उक्त काम रोक्न आदेश नै गरेको थियो तर सर्वोच्चको आदेशअघि नै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी अनावरण गरिसक्नुभएको थियो । संसद्मा भइरहेको विवाद भने जलहरीको परिणाम नभई सुन वा पित्तल प्रयोग भन्नेमा केन्द्रित छ। तत्कालीन प्रधानमन्त्री ओलीको कार्यकालमा २०७७ फागुन १२ गते पशुपतिमा जलहरी अनावरण गरिएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।






