एजेन्सी । एक आपसमा प्रेम भाव ब्यक्त गर्ने पर्वका रुपमा प्रचलित भ्यालेन्टाइन सप्ताह आजदेखि शुरु हुँदैछ । यस अवसरमा प्रेमी प्रेमिकाहरुले औपचारिक रुपमै एक आपसमा प्रेम दर्शाउँछन । साँचो माया गर्नेहरुको पर्व भनिने भ्यालेन्टाइन सप्ताहको पहिलो दिन आज अमेरिकाकी पहिलो महिला अनि अश्वेत उपराष्ट्रपति कमला हेरिसको प्रेम कहानीका बारेमा चर्चा गरौं ।
कमला हेरिस सार्वजनिक जीवनमा सफल हुनुकासाथै प्रेम सम्बन्धका सन्दर्भमा पनि निकै भाग्यमानी महिला हुन । कमला हेरिसका पति डग एमहाफ पेशाले वकिल हुन । अहिले उनी अमेरिकाका सेकेण्ड जेन्टलमेन बनिसकेका छन । एक अन्तरवार्ताका क्रममा एमहफले भनेका थिए, “कमला हेरिससंग मेरो पहिलो नजरमै प्रेम भएको थियो ।” कमलासंग एमहाफको दोस्रो विवाह हो । उनकी पहिलो पत्नी फिल्म निर्माता कर्सटिन हुन । एमहाफका कर्सटिन तर्फका एक छोरा कोल र एक छोरी एल्ला छन ।
विहे गरेको १६ बर्षपछि एमहाफ र कर्सटिनको पारपाचुके भएको थियो । त्यसपछि एमहाफ र कमलाबीच भेटघाट शुरु भएको थियो । सन २०१३ मा कमला र एमहाफ एक ब्लाइन्ट डेटिङमा गएका थिए । यो डेटिङको मेलोमेसो उनीहरुकै एक साथी क्रिसेट हुडलिनले मिलाएका थिए । एमहाफको जन्मदिन पारेर कमला हेरिसले इन्स्टाग्राममा लेखेकी छिन, “हाम्रो पहिलो डेटपछि एमहाफले मलाई डेटिङका लागि एक सूची पठाएका थिए । त्यसमा उनले अबको २ महिनासम्म आफु उपलब्ध हुने उल्लेख गरेका थिए । उनले भनेका थिए, यदी हामीले हाम्रो सम्बन्धलाई यसरी नै म्यानेज गर्न सक्यौं भने हाम्रो सम्बन्ध अझै अगाडी बढ्छ ।”
ब्लाइन्ड डेटपछि सन २०१४ मा एमहाफले कमलालाई सामान्य तरिकाले प्रपोज गरेका थिए । यस बारेमा एमहाफले एक अन्तरवार्तामा भनेका छन, “त्यसबेला म केही नर्वस थिएं । हामीबीच निकै रोमान्टिक कुराकानी भैरहेको थियो । कमलाले चिकन र श्रिम्प प्याडका बारेमा केही कुरा सोधिरहेकी थिइन । त्यही बेला मैले कमलाई प्रपोज गरेको थिएं ।” यो प्रपोजपछि कमला हेरिस र डग एमहाफ विवाह बन्धनमा बाँधिए ।
गत जनवरीमा अमेरिकन टेलिभिजन च्यानल सिबिएसलाई दिएका यो अन्तर्वार्ता निकै चर्चित बनेको थियो । त्यो अन्तरवार्ताका क्रममा कमलाले एउटा खुलासा गरेकी थिइन । उनले भनकी थिइन, “म एमहाफसंग पहिलो डेटमा जानु पूर्व उनका बारेमा जान्नका लागि गुगल सर्च गरेकी थिएँ ।” यो सुनेर एमहाफ पनि आश्चर्यचकित भएका थिए । किनकी यो कुरा कमलाले पति एमहाफलाई यसअघि बताएकी थिइनन् ।
आफुले गरेको खुलासाप्रति पति एमहाफको प्रतिक्रिया देखेर कमला निकै बेर हाँसेकी थिइन । कमला र एमहाफको यो अन्तरवार्ता १५ लाख पटक हेरिएको थियो । एमहाफका छोरा र छोरीबाट प्राप्त माया र सम्मानको उजागर गर्दै हेरिसले एक पोस्टमा लखेकी छिन, “एमहाफका छोरा र छोरीले मलाई सौतेनी आमा भन्न चाहंदैनथे, त्यसैले उनीहरुले मलाई मोमाला भनेर सम्बोधन गर्न शुरु गरे ।”
एमहाफले निजी जीवनदेखि लिएर राजनैतिक उतार चढावाका सबै क्षणमा कमलालाई राम्ररी साथ दिएका छन । सन २०१९ मा कमलाले अमेरिकी राष्ट्रपति पदको चुनावबाट नाम फिर्ता लिने बेला पनि एमहाफले कमलालाई पुरापुर् साथ दिएका थिए । यस बारे अन्तरवार्तामा एमहाफले भनेका थिए, “उनले आफ्नो निर्णय आफै लिएकी हुन् । त्यसमा मेरो पुरापुर् साथ र समर्थन थियो । म कुनै राजनैतिक सल्लाहकार हैन, म त उनको पति हुँ । यसमा मेरो कर्तब्य हुन्छ कि म उनको साथमा रहुँ । उनलाई धेरै माया गरुं अनि सहयोग गरुं ।”
अगस्त २०२० मा बाइडनले कमला हेरिसलाई उपराष्ट्रपति घोषणा गरे । त्यसलगत्तै एमहाफले आफ्नो ल फर्मबाट बिदा लिएर कमलाको चुनावी प्रचार अभियानमा जुटे । नोभेम्बरमा सम्पन्न चुनावमा बाइडन र कमलाको विजय भयो । कमला हेरिसले आफु बिजयी भएपछि दिएको भाषणका क्रममा आफ्ना पति, छोरा, छोरी र परिवारप्रतिको माया ब्यक्त गरेकी छिन । “म मेरा पति, छोरा, छोरी, बहिनी र पुरै परिवालाई धेरै माया गर्छु ।” यसपछि कमलाले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेकी थिइन, “मेरो प्रेम, मेरा पति डग एमहाफ ।”






