बाँके । थारु जातिको भाषा, संस्कृति र पहिचानकालाई अभिलेखिकरण गर्नका लागि बाँकेको राप्तीसोनारीमा ७ औं थारू राष्ट्रिय साहित्य सम्मेलन हुने भएको छ । थारु गोचाली समाज फत्तेपुरको सहकार्यमा थारु लेखक संघ नेपालको आयोजनामा राप्तीसोनारीमा यही माघ २० देखि २३ गते सम्म सम्मेलन हुने भएको हो ।
शनिबार पत्रकार सम्मेलन मार्फत थारु साहित्यको समकालीन अवस्थाबारे अन्तरसंवाद, सिर्जनात्मक लेखनको खोजी, थारू मानक भाषा लेखन, संस्कृतिको भेषभुषा बारे अन्तरक्रिया तथा छलफल गरिने थारु गोचाली समाज नेपाल बाँकेले जनाएको छ ।
थारू तथा गैर थारू साहित्यकारहरू बीच अनुभव आदान–प्रदान गर्ने, प्रकाशित कृतिहरूको विमोचन र बिक्री तथा प्रवद्र्धन गर्ने उद्देश्यले पनि सम्मेलन आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । सम्मेलनमा थारु साहित्यको समकालीन अवस्थाबारे अन्तरसंवाद गर्ने,
थारु साहित्यको सिर्जनात्मक लेखनको रचनागर्भको खोजी गर्ने, थारू तथा गैर थारू साहित्यकारहरूबीच अनुभव आदान–प्रदान गर्ने, प्रकाशित कृतिहरूको विमोचन र बिक्री तथा प्रवद्र्धन गर्ने उद्देश्यले पनि सम्मेलन आयोजना गरिएको थारु लेखन संघ केन्द्रिय सदस्य शेखर दहितले जानकारी गराए ।
उनका अनुसार प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डद्धारा सम्मेलनको उदघाटन गरिने छ । सम्मेलनमा समग्र बाँके जिल्ला र राप्ती सोनारीको मुख्य समस्या तथा समाधानको उपाय, शिक्षाको अवस्था, बरघरहरुको एजेण्डा, नयाँ जनप्रतिनिधिहरुको कामको प्राथमिकता लगायत विषय पनि उठान गरिने छ ।
राष्ट्रिय सम्मेलनको लागि तयारी लगभग पुरा भएको थारु गोचाली समाजका महासचिव कालुराम थारुले जानकारी गराए । सम्मेलनमा झापा–कञ्चनपुरका थारु साहित्यकारले सहभागिता जनाउने उनले बताए । थारु लेखक संघ नेपालले प्रत्येक वर्ष फरक–फरक जिल्लामा राष्ट्रिय सम्मेलन गर्दै आएको छ ।
०७३ सालमा दाङको घोराहीमा पहिलो राष्ट्रिय थारु साहित्य सम्मेलन गरिएको थियो । दोस्रो सम्मेलन कैलालीको पटेला, तेस्रो सम्मेलन बर्दियाको बाँसगढी, चौथो सम्मेलन रुपन्देहीको सैनामैना, पाँचौँ सम्मेलन सुर्खेतको वीरेन्द्रनगरमा र छैठौँ सम्मेलन कञ्चनपुरको सिंहपुरमा भएको थियो ।
सम्मेलनमा आएका पाहुनाहरुलाई राप्तीसोनारी र नरैनापुरमा रहेका पर्यटकीय क्षेत्रहरु बर्फानीबाबा, सन्तानेश्वर, भुवरभवानी, सिक्टा नहर मूल बाँधको अवलोकन गराउने कार्यक्रम रहेको छ । सम्मेलनका लागि स्थानिय वन समूदायद्धारा ५ वटा स्वागत गेटको निमार्ण गरिएको छ ।






