एजेन्सी । क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासरसँग आबद्ध भएका छन् । उनको करार सन् २०२५ सम्म रहनेछ । विवादास्पद अन्तरवार्तापछि म्यानचेस्टर युनाइटेड छाडेका पोर्चुगलका कप्तान फ्रिएजेन्ट रहेका थिए ।
रोनाल्डोले फुटबलको इतिहासमा सबैभन्दा धेरै तलब प्राप्त गर्ने बताइएको जुन वार्षिक १७।७ करोड पाउन्डभन्दा रहनेछ । ३७ वर्षीय खेलाडीले फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न आफू उत्सुक रहेको बताएका छन् ।
नौपटकको साउदी लिग विजेता अल नासरले रोनाल्डोको अनुबन्धलाई नयाँ इतिहासको सुरुवातको रूपमा व्याख्या गरेको छ । रोनाल्डोलाई अर्को साउदी क्लब अल हिलाललेसमेत अनुबन्धको प्रयास गरेको थियो ।
नोभेम्बरको सुरुमा स्ट्राइकरले टकटिभीका लागि पियर्स मोर्गनसँगको एक अन्तर्वार्तामा उनले युनाइटेडबाट ’धोखा’ भएको महसुस गरेको, प्रबन्धक एरिक टेन ह्यागलाई सम्मान नगरेको र क्लबबाट जबरजस्ती बाहिर निकाल्न लागिएको बताएका थिए ।
युनाइटेडका लागि ३४६ खेलमा १४५ गोल गरेका रोनाल्डोले रियल म्याड्रिड गएको ११ वर्षपछि अगस्ट २०२१ मा ओल्ड ट्राफोर्डमा पुनः फर्किएका थिए । युनाइटेडसँगको सम्झौतामा उनको सात महिना मात्र बाँकी थियो तर ’आपसी सहमतिमा’ उनले क्लब छाडेका थिए ।






