काठमाण्डौ । नेपालको जेलमा झन्डै दुई दशक बिताएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई सरकारले फ्रान्स पठाएको छ । सर्वोच्च अदालतको गएको बुधवारको आदेशअनुसार आज शुक्रवार जेलमुक्त भएका शोभराजलाई केहीबेर अघिको उडानबाट फ्रान्स पठाएको अध्यागमन विभागले जनाएको छ ।
शुक्रबार साँझ साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई फ्रान्सका लागि ‘डिपोर्ट’ गरिएको हो । शोभराजलाई अबको १० वर्ष नेपाल आउन नपाउने गरी फ्रान्स फिर्ता पठाएको विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले जानकारी गारईन् । शोभराज दोहा हुँदै आज शनिबार पेरिस पुग्ने उनले बताईन् ।
शोभराज २०६० सालदेखि नेपालको जेलमा थिए । २०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चिच र क्यानडेली नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोगमा २०६० सालमा पक्राउ परेका शोभराजलाई भक्तपुर जिल्ला अदालतले दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । पछिल्लो पटक शोभराजका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले १५ दिनभित्र आफ्नो देश फर्कने व्यवस्था मिलाउन सरकारका नाममा आदेश दिएको थियो ।
७८ वर्षका शोभराजको चालचलनमा सुधार आएको र पाँच प्रकारका औषधि सेवन गर्नुपर्ने अवस्थालाई समेत दृष्टिगत गर्दै थुनामुक्त गर्नु उपयुक्त हुने अदालतको आदेशमा भनिएको छ । भारत, थाइल्यान्ड, टर्की, इरानलगायतका देशमा गरी २० जनाभन्दा धेरैको हत्यामा संलग्न भएको आरोप लागेका शोभराजले भारत र नेपालको जेलमा गरी २० वर्ष बिताएका छन् ।
भेष बदल्ने, प्रहरी प्रशासनलाई समेत प्रभावमा पार्न पोख्त मानिने शोभराजलाई ‘बिकिनी किलर’, ‘सिरियल किलर’ र ‘द सर्पेन्ट’ उपनामले विश्वभर चिनिन्छ । शोभराजसँग जोसुकै मानिसलाई पनि भेटेको केही समयमै आफ्नो प्रभावमा पार्न सक्ने शक्ति भएको उनको मुद्दाको अनुसन्धान गरेका अधिकारीहरू बताउँछन् ।






