काठमाडौ । नायिका नीता ढुंगानाले आफ्ना विचार राजतन्त्रका समर्थनमा व्यक्त गरेकी छन् । नीताले पछिल्लो समयको नेपालको राजनीतिक अवस्था नेपाली जनताकालागी ठीक नभएको अभिव्यक्ति दिंदै आफु यस्तो राजनीतिले दिक्क भएको बताएकी छिन् । साथै उनले लोकतन्त्र भन्दा राजतन्त्र नै ठीक भएको आशयमा सामाजिक सञ्जाल फेसबूकमार्फत राजतन्त्रको पक्षमा आफु रहेको उनले उल्लेख गरेकी छन् ।
उनले लेखेकी छन्,‘कहिले होला हामी नेपाली आनन्दले काम गरेर बस्न पाउने अवस्था आउने, नेताहरुले जनतालाई दुःख नदिने भन्छन्, फेरि नेपाल बन्द गरेर जनतालाई नै दुःख दिन्छन् ।’ नायिका ढुंगानाले नेपालका नेताहरुका कारणले नै यो देशको विकास हुन नसकेको गुनासो सामाजिक सञ्जालमा नै गरेकी छन् । नीता लेख्छिन्, ‘नेपालमा सजिलोसँग काम गरेर खान पनि पाइँदैन, नेपाल बन्दका नाममा सडकमा तरकारी फ्याँकियो ।’
आफूले राजतन्त्र, लोकतन्त्र, गणतन्त्र भोगिसकेको तर अब देशमा अब नयाँ सिस्टमको खाँचो भएको उनले धारणा राखिन् । उनले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका निर्णय केही हदसम्म राम्रा भए पनि उनले देशलाई मजाकका रुपमा लिएको बताइन् । ‘चाहे त्यो राजतन्त्र आएर होस् या नआएर होस्, देशलाई राम्रो हुनुपर्यो, राजालाई पनि केही स्थान त दिनुपर्छ जस्तो लाग्छ मलाई,’ उनले भनिन् ।
राजतन्त्रले देशको हितका लागि केही हुनसक्ने र नेपालमा राजतन्त्र आवश्यक भएको समेत बताइन् । ‘देशको विकासमा सबै राम्रो भइदिए कस्तो राम्रो हुन्थ्यो होला नि है,’ नीताले भनिन् । नायिका नीता ढुंगाना यतिबेला ‘माही’ नामक भोजपुरी फिल्म शूटिङका क्रममा भारतमा छिन् । उनले अभिनय गरेको भोजपुरी फिल्म हालै युट्युबमा रिलिज गरिएको थियो ।






