एजेन्सी । कोलकातामा बसोबास गर्ने नेपाली समुदायले आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती मनाएका छन् । नेपाली जनकल्याण समिति (हावडा) को आयोजनामा आज आयोजित कार्यक्रममा सहभागी वक्ताले संस्कृत भाषालाई नेपाली भाषामा आदिकविले अनुवाद गरी नेपाली भाषाको विकास गर्न योगदान पुर्याएको चर्चा गरे ।
पश्चिम बङ्गालका समन्वय मन्त्री अरुप रायले कोलकाताको नजिकै रहेका हावडा सहर तथा त्यस वरपर क्षेत्रलाई आदिकवि भानुभक्तको नामबाट नामकरण गर्ने घोषणा गर्दै आदिकविको मूर्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । समितिका अध्यक्ष बद्री विक्रम थापाले विगत २५ वर्षदेखि आदिकविको स्मरणमा जन्मजयन्ती गर्दै आएको बताउँदै उनको सम्झनामा बिहानी पत्रिका २३ वर्षदेखि प्रकाशन गरिएको जानकारी दिए ।
संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घको उपसभापति नरविक्रम थापाले नेपाली भाषा, साहित्य र संस्कृतिलाई संरक्षण गर्न आफू क्रियाशील रहेको बताए । आयोजक संस्थाका सल्लाहकार तथा वरिष्ठ पत्रकार धर्मराज बरालले विश्वभरका नेपालीलाई एकताबद्ध गरी जोड्ने काम आदिकविले गरेको चर्चा गर्दै उनको योगदानलाई अन्तर्राष्ट्रिय तहमा प्रचार गर्नुपर्नेमा जोड दिए । रासस






