काठमाण्डौ । सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा यतिबेला मनोज पाण्डे प्रहरी हिरासतमा छन् । प्रहरीद्धारा पक्राउ परेका पाण्डे विरुद्ध थप दुुई पीडित महिलाहरुपनि यतिबेला सार्वजनिक भएका छन् । उनीहरुले मनोज पाण्डेले आफुहरुलाई बलात्कार प्रयास गरेको भन्दै प्रहरीको सम्पर्कमा पुगेका छन् । आइतबार थप दुईजना पीडितले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयमा सम्पर्क गरेर आफूपनि पाण्डेबाट पीडित भएको बताएका छन् ।
अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतका अनुसार पछि सम्पर्कमा आएका दुईजना पीडितले पाण्डेले उनीहरुलाई ‘बलात्कार प्रयास’ गरेको दावी गरेका छन् । टिकटक युजर आईडी ‘सुशिखान जाने हो’बाट गत बुधवार साँझ पिडित युवतीले आफू मोडल एजेन्सी संचालक मनोज पाण्डेबाट बलात्कृत भएको आरोप लगाएर भिडियो पोष्ट गरेकी थिइन् । सो भिडियो सार्वजनिक भएपछि सामाजिक संजालमा उनलाई पक्राउ गर्न तिब्र दवाव बढेको थियो ।
संघिय संसदमा पनि यसबारे आवाज उठेपछि शनिवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई स्वयम्भूबाट पक्रेर अनुसन्धान शुरु गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । उनले भने–‘विभिन्न कोणबाट अनुसन्धान अघि बढाएका छौं ।’
भैरहवा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौंको एभरेष्ट होटलमा आफूलाई पाण्डेले बलात्कार गरेको भन्दै एकजना पीडित युवतीले सामाजिक संजालमा भिडीयोमार्फत आरोप लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।






